(१) कुनै व्यक्तिले दफा ४ अन्तर्गत इजाजतपत्र नलिई वा दफा ५ को उल्लंघन गरी देहायको विष्फोटक पदार्थ उत्पादन गरेमा, राखेमा, प्रयोग गरेमा, बिक्री गरेमा, परिवहन गरेमा वा पैठारी गरेमा निजलाई प्रत्येक कसूर वापत देहाय बमोजिम दण्ड सजाय हुनेछ :–
(क) नाइट्रोग्लिसरीन, डाइनामाइट, व्लास्टिङ्ग पाउडर वा पारोको वा धातुको फलमिनेट भए दुई वर्षसम्म कैद वा बीसहजार रुपैयाँसम्म जरिवाना वा दुबै,
(ख) खण्ड (क) मा लेखिएको विष्फोटक पदार्थ र आतसवाजी र पटाका बाहेक अन्य विष्फोटक पदार्थ भए १ वर्षसम्म कैद वा दशहजार रुपैयाँसम्म जरिवाना वा दुबै,
(ग) आतसबाजी वा पटाका भए एकहजार रुपैयाँसम्म जरिवाना ।
तर, एउटै विष्फोटक पदार्थका सम्बन्धमा दण्ड सजाय गर्दा उत्पादन गरेको, पैठारी गरेको वा प्रयोग गरेको वापत सजाय हुने भएमा सो पदार्थ साथ राखे वापत र पैठारी गरेको, प्रयोग गरेको वा बिक्री गरेको वापत सजाय हुने भएमा परिवहन गरेको वापत छुट्टै दण्ड सजाय हुने छैन ।
(२) कुनै व्यक्तिले दफा ४ अन्तर्गत लिएको इजाजतपत्रको शर्त उल्लंघन गरेमा वा यस ऐन अन्तर्गत बनेको नियम उल्लघंन गरेमा उपदफा (१) को खण्ड (क) को कुरामा पाँचहजार रुपैयाँसम्म, खण्ड (ख) को कुरामा दुई हजार पाँचसय रुपैयाँसम्म र खण्ड (ग) को कुरामा पाँचसय रुपैयाँसम्म जरिवाना हुनेछ ।
स्पष्टीकरणः इजाजतपत्रको म्याद नाघेकोमा र इजाजतपत्रले अधिकार नै नदिएको काम कुरा गरेकोमा इजाजतपत्र नलिएको मानी कारवाई र सजाय हुनेछ ।
(३) दफा ४ वा ५ अन्तर्गतको कसूरसँग सम्बन्धित विष्फोटक पदार्थ जफत भई नेपाल सरकार लाग्नेछ ।